Template Updates

Sunday 10 June 2012

आमाको सपना पूरा गर्ने स्रष्टाहरूको अठोट

– प्रभाकर असीम/नबिन संसार।
भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को चौधौं संस्करण भक्तपुर, बाराहीस्थानस्थित महेन्द्र विद्या आश्रममा शनिबार सम्पन्न भयो ।
गोपालप्रसाद रिमालको सम्झना गर्दै सम्पन्न सो शृंखलामा रिमालकोे आमाको सपना कविता सङ्ग्रह भित्रको “आमाको सपना” शीर्षकको कवितालाई सभापति बनाइएको थियो । शृङ्खला रिमालप्रति नै समर्पण गरिएको थियो । भक्तपुरको साहित्यिक माटोलाई उर्वर बनाउन क्रियाशील समाजले अग्रज स्रष्टा÷सर्जकको सम्मान तथा नव प्रतिभालाई प्रोत्साहन प्रदान गर्न मञ्चको व्यवस्था गर्दै हरेक महिनाको अन्तिम शनिबार घुमन्ते अभियान अन्तर्गत निरन्तर रूपमा भक्तपुरका विभिन्न क्षेत्रमा शृङ्खला सञ्चालन गर्दै आएको छ ।
भक्तपुर, बाराहीस्थानस्थित महेन्द्र विद्या आश्रमको सभाकक्षमा सम्पन्न उक्त शृङ्खलामा उपत्यका, छिमेकी काभ्रे र सिन्धुपाल्चोक जिल्लाका गरी चार दर्जनभन्दा बढी साहित्यसर्जक तथा साहित्यानुरागीको उपस्थिति रहेको थियो ।
शान्ति र संविधानसहित नेपाली जनता सुखी र खुसी भएको हेर्न लालायित नेपाल आमाको सपनालाई नेताहरूले लत्याएकोमा आक्रोश पोख्दै स्रष्टाहरूले आफ्नो सिर्जनामार्फत् नेपाल आमाको सपना पूरा गर्ने अठोट पनि गरे । शृङ्खलामा उपस्थित स्रष्टाहरूले नेपाली जनताको बलिदानबाट स्थापित संविधानसभा नेताहरूको दलीय स्वार्थले गर्दा तुहिएकोले नेताहरूलाई देशलाई गम्भीर दुर्घटनाबाट बचाउन दलीय स्वार्थ त्यागेर राष्ट्र बचाउन तर्फ अग्रसर हुन दवाव दिंदै गीत, कविता, गजल, मुक्तक, लघुकथा तथा हाइकु वाचन गरेका थिए । शृङ्खलामा गंगाराम गड्तौला, अनुकुल प्रकाश, छवि भाइ, ध्रुव भण्डारी, केदार थापा, राजुराम मुनंकर्मी, किरण भुषाल सङ्गीतम, प्रभाकर असीम, हरिसुन्दर छुकां, रञ्जिता थापा हृदयरोगी, आर.सी. विरही, सीताराम आचार्य ’सागर’, रविन विष्ट ’स्नेही’, घायल योद्धा नवराज, माधव काभ्रेली, उज्ज्वल पाठक, दिनमान गुर्मछान दिगु, नरेन्द्रकुमार नगरकोटी, उर्मिला कोइराला आँसु, प्रकाश दाहाल आशावादी, सानु ऋक्षश्री, संगीता थापा, कृष्ण प्रजापति, मञ्जु गिरी, काशीराम विरस, ईश्वर थोकरलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले सिर्जना वाचन गरेका थिए । शृङ्खलामा महेन्द्र विद्या आश्रमका निशा धौवन्जार, सृष्टि त्वांती, श्रीषा चगुठी, आभाष घिसिङ, मधुकर गैडा, अलिशा खड्का, सोनु थापा, आयुषा मल्ल, अमिता खड्का, भुवन कुँवरलगायत एक दर्जन विद्यार्थीहरूले पनि सहभागी भएर कविता वाचन गरेका थिए ।
भक्तपुर जिल्ला आसपासका नगरक्षेत्र र ग्रामीण क्षेत्रहरूमा पुगेर साहित्यिक मञ्चको व्यवस्थापन र साहित्यिक जागरण ल्याउने शृंखलाको उद्देश्यअनुसार आगामी शृङ्खला असार ३० गते शनिबार दिनको १ बजे हुने आयोजकले बताएको छ ।

0 comments:

Post a Comment